मुलुकमै सबैभन्दा ढिलो भएको आयोजना मेलम्ची

नेपालको पूर्वाधार निर्माणको इतिहासमा सबैभन्दा धेरै समस्या र ढिलासुस्तीको उपमा पाएको आयोजना हो–मेलम्ची खानेपानी आयोजना। तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले तीन दशकअघि अर्थात् २०४७ सालमा मेलम्ची खोलाको पानी ल्याएर काठमाडौं उत्पत्यकामा वितरण गर्ने सपना बाँडेका थिए। यसको करिब एक दशक पछि २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरेर मेलम्ची खानेपानी आयोजनाको काम सुरुवात गर्ने प्रयास गरिएको थियोे। एसियाली विकास बैंकले २०५७ सालदेखि ऋण उपलब्ध गराउने सहमति गरेपछि निर्माणको काम सुरु भएको थियो।

मेलम्ची खानेपानीको अवधारणा र डिजाइन, पहुँचमार्गलगायतको काम दुई दशक अघि सुरु गरे पनि वास्ताविक रूपमा सुरुङ निर्माण गर्ने कार्य भने सन् २००९ देखि मात्रै सुरु गरिएको थियो। सुरुङ खन्न सुरु भएको १२ वर्षको अवधिमा मेलम्ची खानेपानी आयोजनाले आरोह अवरोह छिचोल्दै आइरहेको छ। २६ किलोमिटर लामो सुरुङ छिचोल्दै सिन्धुपाल्चोक अम्बाथानस्थित मेलम्ची नदीको पानी काठमाडौं उपत्यका झार्न भने १२ वर्ष लामो संघर्ष गर्नुपर्याे।

२०५५ सालयता मुलुकमा १९ पटक सत्ता परितर्वन भयो। तर मेलम्ची आयोजना भने तोकिएको समयभित्रै आउन सकेन्। समयमै निर्माण सम्पन्न नहुने सूचीमा दरिएको आयोजनामा समेत मेलम्ची पर्छ।

यसैले मेलम्ची खानेपानी आयोजना नेपालको पूर्वाधार निर्माण क्षेत्रमा हुने ढिलासुस्ताको नमुनाको रूपमा चित्रित हुँदै आएको छ। मेलम्ची खानेपानी २६ किलोमिटर सुरुङ खन्ने काममा समेत दुई वटा विदेशी ठेकेदारले काम सम्पन्न नहुँदै बीचमै छाडेर अलपत्र बनाएको योजनामा पर्छ। मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री यो आयोजना बिल्कुलै फरक प्रकृतिको र अनुभव नभएको आयोजना भएकाले पनि सोचेभन्दा धेरै ढिलो निर्माण सम्पन्न हुने संघारमा पुगेको बताए। ‘मेलम्ची खानेपानी आयोजना नेपालकको लागि बिल्कुनै नयाँ परियोजना थियो,’ उनले भने, ‘यस्ता ठूला परियोजनाको पर्याप्त अध्ययन र अनुभवको कमीको कारणले पनि निर्माणमा ढिलासुस्ती भएको सत्य हो।’

२०५५ सालयता मुलुकमा १९ पटकसम्म सत्ता परितर्वन भयो। तर मेलम्ची आयोजना भने तोकिएको समयभित्रै आउन सकेन्। समयमै निर्माण सम्पन्न नहुने आयोजनाको सूचीमा दरिएको आयोजनामा समेत पर्छ। मेलम्ची खानेपानी आयोजनाको अध्ययन तथा डिजाइन दुई दशक अघिदेखि भए पनि आयोजनाको वास्तविक रूपमा कार्यान्वयन भएको सन् २००९ देखि भएको हो।

मेलम्ची आयोजनाको हेडवक्र्स तथा सुरुङ निर्माणका लागि चिनियाँ कम्पनी चाइना रेल्वे कम्पनीसँग १९ फेब्रुअरी २००९ मा सम्झौता भएको थियो। सो सम्झौता अनुसार २ सेप्टेम्बर २०१३ मा निर्माण सम्पन्न गर्नुपथ्र्याे। तर चिनियाँ कम्पनी सिसिएमसीले सम्झौता अनुसार काम गर्न नसकेपछि २५ सेप्टेम्बर २०१२ मा ठेक्का सम्झौता तोडिएको थियो।

चिनियाँ ठेकेदार कम्पनीले आवश्यक उपकरण ल्याएर सुरुङ खन्न नसकेपछि बीचैमा छाडेको थियो। उक्त ठेकेदार कम्पनीसँग सम्झौता रद्द हुँदासम्म ६.४१ किलोमिटर मात्रै सुरुङ निर्माण भएको थियो। सुरुङको बाँकी रहेको काम गर्नको लागि १ डिसेम्बर २०१२ मा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरिएको थियो। सो बोलपत्रमा ४ वटा ठेकेदार कम्पनी सहभागि भए पनि अन्तिममा इटालियन ठेकेदार कम्पनी सिएमसी छनोट भएको थियो। चिनियाँ ठेकेदार कम्पनीले अलपत्र छाडेको मेलम्चीको सुरुङ खन्न तथा हेडवक्र्सलगायतको संरचना निर्माणको लागि अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक बोलपत्रबाट मेलम्ची आयोजनाको सुरुङ खन्नको लागि दोस्रो पटक इटालियन कम्पनी सिएमसी छनोट भएको थियो।

आयोजना र कम्पनीबीच १५ जुलाई २०१३ मा १०९५ दिनभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। सो ठेक्का ७ अर्ब ७२ करोड (भ्याट बाहेक)मा सम्झौता भएको थियो। भूकम्प र नाकाबन्दीको कारणले आयोजनाको म्याद मार्च २०१८ सम्म थप गरिएको थियो। तर इटालियन कम्पनीको नगद प्रवाहको समस्याको कारण पटक–पटक निर्माण कार्य अवरुद्ध हुँदै आइरहेको थियो। सिएमसीले भूकम्पको कारण हेडवक्र्स क्षेत्रमा ओपनकट र तथा रक सर्पाेटलगायतको संरचना निर्माण गर्नुपर्ने बाहना देखाउँदै हेडवक्र्स निर्माणको लागि १ अर्ब ६४ करोड ४९ लाख रूपैयाँ अतिरिक्त तथा ४ सय २४ कार्यदिन बराबरको म्याद थपको लागि माग गरेको थियो।

ठेकेदारले सो बराबरको भुक्तानी माग गरेपनि आयोजनाले ओपरकटको लागि २८ करोड र र बाँकी काम गर्नको लागि ३० अगष्ट २०१८ सम्म म्याद थप हुने सिफारिस गर्याे। तर ठेकेदार कम्पनीले परामर्शदाताको निर्णयमा चित्त नबुझेर डिस्पुट बोर्डमा पुनरावलोकनका लागि निवदेवन गरेकोमा बोर्डको प्रारभिक निर्णय अनुसार २ सय १२ दिन थप गरी १० फेब्रुअरी २०१९ सम्मका लागि सिफारिस गर्ने निर्णय गर्याे। सिएसीले तत्कालै भुक्तानी माग गर्दे नोटिस अफ कन्ट्राक्ट टर्मिनेसनको पेश गरेको थियो। इटालियन ठेकेदार कम्पनी सिएमसीले १५ डिसेम्बर २०१८ मा मेलम्ची खानेपानी आयोजनाको साइट छाडेर निर्माण कार्य स्थगित गरेको थियो।

मेलम्ची खानेपानी आयोजनाले ठेकेदार कम्पनीले २१ वटा सर्तहरू तेर्साउँदै आफ्नो माग पूरा भएमात्रै काममा फर्किने सर्त तेर्साएको थियो। मेलम्ची खानेपानी आयोजनाले ठेकेदारको माग पूरा गर्न नसक्ने भन्दै फेब्रुअरी २०१९ मा ठेक्का सम्झौता रद्द गरेको थियो। आयोजनाले सुरुङ तथा अन्य संरचना तयार नहुँदै डिसिल्टिङ बेसिन, इलेक्ट्रोमेकानिकल लगायतको जडान कार्य बाँकी नै थियो। ठेकेदार कम्पनीले सो अवधिसम्म ८ अर्ब ४६ करोड रूपैयाँ भुक्तानी लिएको थियो। आयोजनाले ठेकेदार कम्पनी सिएमसीबाट कार्य सम्पादन जमानत तथा बैंक जमानत ग्यारेन्टीको २ अर्ब ९ करोड रूपैयाँ जफत गर्याे।

इटालियन ठेकेदार कम्पनीसँग सम्झौता रद्द भएसँगै मेलम्ची आयोजनाको काम करिब एक वर्ष आन्तरिक किचलोको कारणले नै ठप्प रह्यो। ३१ मे, २०१९ मा मुख्य दुई प्याकेजको नयाँ खरिदका लागि बोलपत्रको सूचना प्रकाशन गरिएको थियो। सुरुङको बाँकी रहेको कामको ठेक्का सिनो हाइड्रोले २०७६ असोज १२ गते सुरुङ को फिनिसिङलगायतका आवश्यक काम गर्नको लागि एक वर्षभित्र सम्पन्न गर्ने गरी ८५ करोड रूपैयाँमा ठेक्का पायो।

त्यसैगरी सिनो हाइड्रोले नै आयोजनाको हेडवक्र्स कोफर ड्यामलगायतको संरचना निर्माणको लागि एक अर्ब रूपैयाँको ठेक्का पाएको थियो। हेडवक्र्स १५ महिना र सुरुङ एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने सम्झौता गरिएको थियो। तर गत चैत ११ गतेदेखि भएको लकडाउन र गत असार ३० गते मेलम्ची खानेपानी आयोजनाको सुरुङ परिक्षणको क्रममा १७ नम्बर गेट भत्किएसँगै यो आयोजनामा थप ढिला भएको थियो।

मेलम्ची आयोजनामा ५० अर्ब खर्च

पछिल्लो समय पनि तोकिएको समयभित्रै काम हुन सकेन्। आयोजनाका कार्यकारी निर्देशक खत्रीले मेलम्ची खानेपानी आयोजनाको सुरुङ तथा हेडवक्र्सलगायतको प्याकेज १ तर्फ हालसम्म २९ अर्ब ५० करोड रूपैयाँ खर्च भएको बताए। उनका अनुसार यो खर्च २६ किलोमिटर सुरुङ खन्न, हेडवक्र्स, मुआब्जा, सवारीसाधन, सामाजिक उत्थान, वातावरण, परामर्श दाता, प्रशासनिक तथा चालु खर्च समेत जोडेर भएको हो।

आयोजनाका निर्देशक खत्रीले आयोजना सम्पन्न हुँदासम्म अझै ५० देखि ६० करोड रूपैयाँ खर्च लाग्ने दाबी गरे। मेलम्ची खानेपानी आयोजनाको सुरुको लागत ४६४ मिलियन अमेरिकी डलर रहेको थियो। सन् २००५ मा आयोजनाबाट नर्वेजेयिन र स्वीडिस सहयोग फिर्ता गरेपछि आयोजनालाई सन् २००८ मा पुनर्संरचना गरी सञ्चालन गरिएको थियो। आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्ची आयोजनाका ठेकेदार कम्पनी तथा परामर्शदाता कम्पनीले व्यवसायिक क्षमता देखाउन नसक्दा आयोजना निर्माणमा ढिलासुस्ती देखिएको बताउँछन्।

‘परामर्शदाताले व्यवसायिक ढंगले परामर्शदाताको जिम्मेवारी निभाउन नसक्दा पनि आयोजना अनावश्यक रूपमा लम्बिएको हो,’ खत्रीले भने, ‘मेलम्ची आयोजनाको अवधारणा र डिजाइनको लागि करिब दशक अवधि लाग्यो।’ आयोजनाको सुरुङ खन्न थालेको १२ वर्षपछि मात्रै उपत्यकावासीको घर–घरमा मेलम्ची खानेपानी आउन लागेको हो। यो आयोजना सुरुवात हुनुअघिसम्म नेपालमा ठूला परियोजनाको सुरुङसम्बन्धित इन्जिनियर, परार्शदाता, ज्ञानसीप तथा डिजाइनको अनुभव नहुँदाको कारणले पनि समस्या देखिएको हो।

आयोजनाका कार्यकारी निर्देशक खत्रीले मेलम्चीको पानी आगामी चैत १५ गतेदेखि उपत्यकावासीको घर–घरमा वितरण गरिने बताए। मेलम्चीको पानी सुन्दरीजलमा आएपछि उपत्यकावासीको घर–घरमा लाइन विस्तार तथा जडानको लागि पनि २० अर्बभन्दा धेरै लागतको संरचना तयार पारिएको छ। नागरिकबाट

प्रतिकृया दिनुहोस्