“वीर्य जमिन” भित्रका शसक्त भ्रुणहरु किताबभित्रका कुरा

“भञ्ज्याङभरि
गोदावरी, चमेली फुल्नु
मेरी गाउँकी भाउजु
त्यही रङ, सुगन्धमा खुल्नु
प्रकृतिलाई दोष छैन ।”

(गाउँकी मेरी सुन्द भाउजु-५८)

लामो समयको साधना पश्चात एक्कासी पाठेघरबाट चर्चामा आएकी बादल चाम्लिङ अहिले वीर्य जमिन कविता कृति बजारमा ल्याएकी छिन् । सुन्दर कवित्वको धनि चाम्लिङको पाठेघर टर्निङ पोइन्ट बन्यो र नै आज कविको रुपमा स्थापित छिन् । पाठेघर पश्चात उनले गत चैतमा बेलबारीमा होम लन्च गर्दै आफनो दोश्रो कविता कृति वीर्य जमिन पाठकहरुमाझ ल्याइन् । कोभिड १९ का महामारी बिच उनले सो कृति लन्च गरिन् । जसले छुट्टै अर्थ राख्यो । एउटा कवि हुनु भनेको त जस्तै कठिन परिस्थितिको सामना गर्दै भए नि रचनात्मक काम गर्नु पनि रहेछ । यो महामारीको परिस्थितिमा सबैभन्दा डटफट नै कवि तथा लेखकहरुको छ । नत्र त हामीलाई हाउगुजीले नै सकेको छ । यदी साँच्चिकै कोरोना हामीमा आइ लाग्यो भने के होला ? जुन कुराको संकेत हाउगुजीले नै गरिसकेको छ ।

वीर्य जमिन भित्र प्रवेश गर्ने हो भने त्यसका भ्रुणहरुले एकदमै शसक्त छन् । जुन भ्रुणहरुमा पुरुषार्थ(यो शब्दको गलत अर्थ नलागोस्) छ । भ्रुणहरु भन्नु कृर्तिमा समाविष्ट कविताहरु नै हुन् । यीनका कवित्व हेर्ने हो भने बडो डाहा लाग्दो छ । डाहा गर्नेहरुको जमात नि भेटेको छु केही ठाउँमा । यीनि कविता मनै देखि लेख्छिन् । र नै यीनको कविता सबैको मन मुटुमा बस्छन् ।

“एक बिहान
ज्वारीकोट हल्लाउँदै
एउटा व्यापारी आए
जाबो कागजको खोस्टा देखाएर जोडा गोरु मोले
दाम्लो किलालाई छाडिदिएर
शरीरमा बसेका झिँगाहरु
कान,पुच्छरले धपाउँदै तारे तिल्के
मुल बाटै बाटो लागे । ”

(तारे र तिल्के-१०४)

हामी यो जन जीवनको गहिराइमा कहिले पुग्यौं र ? नाथु गोरु हाम्रो निम्ति कविताको विषय बन्यो होला र हामीले लेख्ने कवितामा ? लेखिए इत्रिने भाषामा, लेखिए साढे वा नकरात्मक पात्रमा । तर तिनीहरुको पीडा ओकलिन् कविले र नै उनी कवितामा अब्बल ठहरिन् । वीर्य जमिन नामले नै यो कृतिप्रति प्रायको कौतुहलता बढ्छ नै । त्यस भित्रका कविता हेर्न जो कोही लालायित हुनु स्वभाविक नै हो । बादलका कविताहरु दर्शन जस्ता छन् । केही केही कवितालाई त प्राय पाठकले ठम्याउनै सक्दैनन् । र यो चाहीं उनको काव्यिकता हो । भु-दिउल, ब्लाक होल, आत्म दृष्टान्त, आशक्ति यी कविताहरुले कविको काव्यिकता झल्केकाउँछ ।

पाठेघरबाट डेब्यु गरेकी बादल वीर्य जमिनसम्म आईपुग्दा कविता कर्ममा उच्च लयमा छिन् । कवि बादल चाम्लिङको पाठेघर पाठकसामु आए पछि उनी एकाएक सेलिब्रेटी बनेकी कवि हुन् । लगभग एकल कविता वाचन र केही सम्मान थाप्न भ्याइ नभ्याई नै भइन् । केही गरिमामय मञ्चामा समेत आफुलाई उभ्याइन् । भरौलको पाँच शहरका कवि र कविता, पोखरा र काठमाडौमा कविको रुपमा प्रस्तुत गरिन् । जुन मौका जो सुकै कवि लेखकले पाउँदैनन् । सँगसँगै गुमनाम जस्तै रहेकी बादल पाठेघरको आगमनसँगसँगै राष्ट्रिय पत्रिकाहरुमा उनको कविताले गरिमामय ढंगले स्थान पाउन थाल्यो । र उनी प्रस्तुत भएको मञ्चहरुमा सफल कविको रुपमा आफुलाई सावित गराइन् । यो मानेमा उनी सफल र सेलिब्रेटी कवि हुन् ।

यो कविता संग्रहभित्रका बोक्सी र वीर्य जमिन कविता अब्बल हो भन्ने लाग्छ । सायद कविले पनि यो कविता प्रति यही आशा गरेको हुनुपर्छ । बोक्सी कवितामा नारी प्रतिको समाजको दृष्टिकोण, नारीलाई गरिने तुच्छ व्यवहारलाई उजागर गरिएको छ । नारीलाई पुरातनवादी संस्कारको सहारामा अझै पनि खेलौना वा कठपुतली नै सम्झेको अभिव्यक्ती प्रस्तुत गरेकी छिन् । पछिल्लो समयको नारी हिंसा वा श्रृंखलाबद्ध हुनेगरेको बलात्कारको घटना हेर्ने हो भने त कविको नजर भन्दा माथि यो समाज कहाँ उठ्न सकेको छ र ? यो कविता आम नेपाली नारीहरुको प्रतिनिधि कविता हुन् । यसर्थ पनि यो कविता नारीहरुले यो कविता आफनो सम्झने छन् र विद्रोह ओकल्नेछन् ।

वीर्य जमिन अर्को शसक्त कविता हो । संयोग चैं के भने अघिल्लो कृति पाठेघर यो पल्टको कृति वीर्य जमिन । यो पछिल्लो कृति चाहीँ पुरुषजन्य नाम राखेर सन्तुलन मिलाउन पो यसो गरिएको हो कि जस्तो लाग्छ । यो कवितामा पुरुष महिमा अलि बढी गाइए जस्तो भान हुन्छ । तर सत्यताका अनेकौं तथ्यहरु पनि कविले सोही ठाउँमा पस्केकी छिन् । यीनको लेखन विशेषता कवितामा आक्रोष पोख्दिनन् र नै पनि यो कविता सागरभन्दा फराकिलो ढंगले लेखिएको हुनु पर्छ । पछिल्लो पल्टको वाद र प्रायोगले कवितालाई रुखो महसुस भए जस्तो लाग्दै गर्दा यस्ता कविताले कविता शिल्पीको मर्मलाई यथावत राखे झैं लाग्छ । यसो भन्दै गर्दा वाद र प्रयोगहरुले अरुची लाग्दो छ भन्ने चार्ही कदापी हैन । वाद र प्रयोगहरुले साहित्यको भण्डार समृद्ध बन्ने चाहीं जरुर हो ।

“सडक कुस्ती खेल्ने खेल मैदानजस्तै बनेको छ
नाटक मञ्चन गर्ने रङ्गमञ्च भएको छ
जोसँग जे जे छ
स्वभिमान, अभिमान
बिक्री वा प्रर्दशनका लागि उपयुक्त ठाउँ सडक बनेको छ ।

यो सडकमा एउटा एम्बुलेन्स बाटो खोजिरहेको छ
मुहारले भन्छ
उ आपतमा छ ।”

(एम्बुलेन्समा देश-४८) (माथि पहाडको भित्तामा एउटा गाउँ छ/३२)

यो कविताले हालको देशको अवस्थाको चित्रण गरेको छ । यो देशको नेता र नेतृत्व र स्वयं हामी जनता नै देशलाई अस्थिरता तर्फ धकेलिरहेका छौं । अहिलेको नेतृत्वको त कुरा गरि साध्य छैन । उनीहरु साँच्चै नै कविले भने जस्तै सडकमा जात्रा देखाइरहेका छन् । एउटा छिमेकी भ्रमणमा आउँदा पुरा सरकारमा आँधीहुरी चल्छ भने यो भन्दा अर्को तमासा नेपाली जनताको लागि के हुन सक्छ ? यो देशलाई अचेत बनाएर एम्बुलेन्समा कोच्ने यी नै नेताहरु र अनावश्यक तमासा देखाउनेहरु प्रतिको गुनासो वा खबरदारी हो । कविको देशप्रतिको चिन्तनलाई ओकलेको छ यो कविताले ।

यो कृति भित्र खास पाठक भएर नियाल्दा अघिल्लो कृतिमा कविलाई केही आरोपहरु थिए । यती आरोपहरुको भने जस्तो प्रतिकार गर्न सकेका छैनन् । जस्तो की यीनको समुदायको मिथक अझै उनको कवितामा आइसकेका छैनन् । उनको समुदायले उनको शालिन् कवित्वमा आðनो संस्कृति र मिथक देख्न सुन्न चाहन्छन् । यो विषयमा भने कवि आउँदो कृतिहरुमा सचेत हुनै पर्छ । र यो कृतिको कविता अनुच्छेदहरुमा शब्दहरुको अक्षरहरुको उचित साङ्गो पाङ्गो मिलेको छैन । यो प्राविधिक कमजोरीले पाठकहरुलाई पठनमा असहज पक्कै हुन्छ । तर कविको कवित्वले धेरथोर ती पक्षलाई गौण बनाइदिएको छ ।

अन्तमा कवि बादल चाम्लिङको अरु यस्तै सुन्दर कृतिहरु पढ्न पाउँ, कविको अरु दमदार कविताको असल पाठक बन्न सकुँ शुभेच्छा । अन्तमा कवि बादलको अर्को मन छुने कविताको साथमा ओझेलिन्छु ।

“माथि
पहाडको भित्तामा एउटा गाउँ छ
उसको काखमा सियाँल या ओझेल पर्ने ठाउँ छ
घाम छिप्पिएर माथि आईपुग्दा
शीत,
निर्धक्क
भुईभरि राज गरेर बस्छ ।”

 

प्रतिकृया दिनुहोस्