
असार-४, काठमाडौं । भारतमा आगामी अक्टोबरबाट कोरोना भाइरस (कोभिड-१९) को अर्को लहर आउन सक्ने विज्ञहरुले अनुमान गरेका छन् ।
स्वास्थ्य विशेषज्ञ, वैज्ञानिक, संक्रामक रोग विशेषज्ञ, महामारीविद् र प्राध्यापक समाचार संस्था रोयटर्सले गरेको कुराकानीमा उनीहरुले तेस्रो लहर आउन सक्ने तर अहिलेको भन्दा नियन्त्रित हुने धारणा राखेका हुन् ।
अक्टोबरमा सुरु हुने तेस्रो लहर वर्षको अन्तिमसम्म रहने उनीहरुको भनाइ छ ।
रोयटर्सले जुन ३-१७ सम्ममा ४० स्वास्थ्य विशेषज्ञ, वैज्ञानिक, संक्रामक रोग विशेषज्ञ, महामारीविद् र प्राध्यापकसँग यस विषयमा राय लिएको थियो । यो क्रममा उनीहरुले कोरोना खोपको कारण अब आउन सक्ने लहरमा भने ठूलो क्षति नहुने बताएका छन् ।
सर्वेक्षणमा सहभागीमध्ये ८५ प्रतिशतले भारतमा कोरोनाको तेस्रो लहर अक्टोबर महिनामा आउन सक्ने बताएका थिए । त्यस्तै ७० प्रतिशतभन्दा धेरैले यो लहर दोस्रो लहरको तुलनामा नियन्त्रित हुने अनुमान गरेका थिए ।
अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सका निर्देशक डा. रणदीप गुलेरिया भन्छन्, ‘यो निकै नियन्त्रित हुन सक्छ किनकी आगामी दिनमा थप मानिसहरुले कोरोना खोप लगाउनेछन् र दोस्रो लहरपछि मानिसहरुमा विकास भएको प्राकृतिक प्रतिरोधी क्षमताले पनि काम गर्न सक्छ ।’
अहिलेसम्म भारतमा खोपका लागि योग्य करिब ९५ करोडमध्ये पाँच प्रतिशतले मात्र कोरोना खोपको पूरा डोज लिएका छन् । अझै पनि धेरै मानिसहरु कोरोना संक्रमणको उच्च जोखिममा देखिएका छन् ।
कोरोनाको तेस्रो लहरमा बालबालिका जोखिममा पर्छन् ? भन्ने प्रश्नमा ४० मध्ये २६ जनाले यो आशंका सही साबित हुन सक्ने बताएका थिए ।
‘खोपको आधारमा भन्ने हो भने उनीहरु पूर्ण रुपबाट बञ्चित छन् यो पनि एक कारण हुन सक्छ । किनकी अहिलेसम्म बालबालिकालाई खोपको अनुमति दिइएको छैन’, नेशनल इन्ष्टिच्युट अफ मेन्टल हेल्थ एण्ड न्युरोसाइन्सको महामारीशास्त्र विभागका प्रमुख डा. प्रदीप बनान्दुरले भने ।
‘धेरै बालबालिका कोरोना संक्रमित बने र पर्याप्त तयारी हुन सकेन भने अन्तिम समयमा केही पनि गर्न सकिँदैन’, कर्नाटक सरकारका हृदय रोग विशेषज्ञ डा. देवीप्रसाद शेट्टी बनाउँछन् ।
४० मध्ये ३० जनाले भारतको लागि कम्तीमा एक वर्ष कोरोना महामारी सार्वजनिक स्वास्थ्यको चुनौती बन्न सक्ने बताएका छन् ।
‘कोभिड-१९ समाधान गर्न सकिने समस्या हो । यसलाई खोपको माध्यमबाट सहजै समाधान गर्न सकिन्छ । दुई वर्षमा भारतमा खोप र कोरोनासँगको सम्पर्कको कारण हर्ड इम्युनिटीको विकास हुन सक्छ’, युनिभर्सिटी अफ मेरिल्याण्डको इन्ष्टिच्युट अफ ह्युमन भाइरोलोजीका निर्देशक रोबर्ट ग्यालोले भने ।एजेन्सीहरुको सहयोगमा
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।