
कात्तिक-४, नयाँ दिल्ली। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा भारतमा १४ हजार ६२३ जना कोरोना भाइरसबाट नयाँ सङ्क्रमित भएको उल्लेख गरिएको थियो भने बिहीबार त्योभन्दा चार हजार बढी देखिएको छ ।
सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ४५४ जना नयाँ सङ्क्रमित थपिएका हुन् । सोही अवधिमा १७ हजार ५१६ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्यामा पनि वृद्धि भएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या एक लाख ७८ हजार ८३१ रहेको जनाएको छ । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड ३४ लाख ९५ हजार ८०८ पुगेको मन्त्रालयले जनाएको छ ।
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म १०० करोडभन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।