
साउन-१८, धरान । उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ बाट सप्तकोशी नदी बस्तीमा पसेपछि करिव बाह्रसय घर परिवार विस्थापित भएका छन् ।
बेलकाको डुम्रीबोटेबाट धार परिवर्तन गर्दै पश्चिम तर्फ पस्दा नगरपालिकाका वडा नम्बर ८, ९, ३ र २ नम्बर वडाका वासिन्दा बिस्थापित भएका हुन् ।
आज बिहान ४ बजेदेखि नदीले कटान गरी गाउँ पस्न थालेपछि स्थानीयवासीले गाउँ छाडेका हुन् ।
प्रभावितले पशुधन, लत्ताकपडा बोकेर गाउँ छोडेको तस्वीर सामाजिक सञ्जालमा देखिन्छ । उनीहरूले सुरक्षित स्थान खोज्दै गाउँ छोडे पनि कहाँ बस्ने भन्ने टुंगो लागि सकेको छैन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार अहिले नदीले ५० मिटर बाँध कटान गरी बस्तीमा पसिसकेको छ । त्यस क्षेत्रका नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।
वेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार नगरपालिकाका वडानम्बर १, २, ३, ८ र ९ साथ साथै सुनसरीको बराह क्षेत्र नगरपालिकाका केही वडाहरू समेत प्रभावित हुने सम्भावना बढेकाे छ ।
प्रभावित क्षेत्रका सबै नागरिकलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा लैजान गृहमन्त्री बालकृष्ण खाँणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
अहिले प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय, नगरपालिका र स्थानीय स्वयमसेवको टोलीले प्रभावितको उद्धार गरिरहेको छ ।
वेलकामा मात्रै २० हजार बढी नागरिक विस्थापित हुने मेयर कार्कीको भनाइ छ ।