
साउन-२०, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जटिल शल्यक्रिया गरेर ९ किलो ट्युमर निकालिएको छ ।
प्रतिष्ठानका अनुसार सप्तरी जिल्लाका ५५ बर्षीय एक पुरुषको साउन ९ गते शल्यक्रिया भएको थियो । उनी असार ३१ गते प्रतिष्ठानमा शल्यक्रियाको लागि भर्ना भएका थिए । उनको पेटको पछिल्लो भाग रेट्रोपेरिटोनीयम ट्युमर रहेको प्रतिष्ठानले जनाएको छ । उनको शलइक्रिया जी.आई सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर डा. कुणाल बिक्रम देवको नेतृत्वमा भएको थियो ।
प्रतिष्ठानका अनुसार सामान्यतया रेट्रोपेरिटोनीयल ट्युमर पेटको पछिल्लो भागमा रहेको शरीरको रगतको ठुला नशा, मृगौला र यी अंगबाट आएको पिसाबको नली, ठुलो आन्द्रा, शरीरको तल्लो भागलाई सञ्चालन गर्ने स्नायुहरुसँग गाँसिएको हुन्छ । याे सर्जरी धेरै जटिल मानिने डा.देवको भनाई छ । उनका अनुसार ‘विरामीको शल्यक्रियामा ट्युमरको साथै मृगौलाबाट आएको पिसाबको नली पनि काटेर जोड्नु परेको त्यसैगरी दायाँ भागको इन्टरनल इलिक आर्टरी बाँध्नुपरेको थियो ।
शल्यक्रियाको लागि मल्टिडिसिप्लेनरी टिम एप्रोज तरिकाबाट डा.देवको नेतृत्वमा प्राडा शैलेश अधिकारी, डा.सुजन गौतम, डा. रतिस कर्ण, डा. सुस्मित शर्मा, यूरोलोजीबाट डा. आवाज काफ्ले, कार्डियोथोरासिक भास्कुलर सर्जरीबाट डा. विजय साह संलग्न थिए । त्यसैगरी एनेस्थेसिया विभागबाट प्रा.डा. आशिष घिमिरेको नेतृत्वमा डा.अरुण मण्डल, डा. सुजन पुन, नर्सिङका टिममा गीता बिक, रेनुका चौधरी र शोभा राईको शल्यक्रियामा संलग्नता रहेको थियो ।
शल्यक्रिया गरेको विरामी आईसियुमा २ दिन उपचार पश्चात सर्जरी वार्डमा पनि ६ दिन उपचार गरिएको थियो । उनी हाल निको भएर साउन १७ गते घर फर्किसकेका छन् ।
विरामी विगत ५ महिनादेखि विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचारको लागि धाइरहेका थिए । परिवारलाई पनि यो शल्यक्रिया नेपालमा सम्भव छैन भन्ने लागेको तर प्रतिष्ठानमै सर्वशुलभरुपमा सफल शल्यक्रिया पछि निको भएर बुबा घर फर्किदा धेरै खुशी लागेको विरामीका छोराले प्रतिक्रिया दिएको प्रतिष्ठानले जनाएको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।