
साउन-२२ , काठमाडौं । करिव ७ वर्षअघि नयाँ शक्ति पार्टी हुँदै डा. बाबुराम भट्टराईको साथ सामाजिक जीवनलाई थाँतिराखेर राजनीतिक यात्रामा लागेका कृषि विज्ञ मदन राई अन्तत: राजनीतिबाट अलग्गिएका छन् ।
डा. भट्टराईको नेतृत्वको नयाँ पार्टी नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिमा राई अटाएका छैनन् । शनिबार साँझ फेसबुकमा एक स्टाटस अद्यावधिक गर्दै राईले भट्टराईसँगको राजनीतिक यात्राबाट अलग भएको घोषणा गरेका छन् ।
‘म अलग भएँ, क्याडर पावरको राजनीति मलाई पीडापूर्ण थियो,’ उनले लेखेका छन् । लामो समय नेपाली कांग्रेसमा आवद्ध भएर राजनीति गरेका उनी उक्त पार्टी परित्याग गरी १६ वर्ष स्वतन्त्र बसेका थिए । २०७२ मा डा. बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्ति पार्टीको ३५ सदस्यीय कमिटीमा राई पनि थिए ।
पछिल्लो सात वर्षमा डा. भट्टराई शक्ति र मिसमास राजनीतितिर लागेपछि आफू सल्लाहमा नै अलग बसेको राईले स्पष्ट पारेका छन् ।
‘७ वर्षमा हाम्रो टिमबाट मैले धेरै सिकें, सिकाएँ पनि । प्रयास पास भएन तर अभ्यास धेर भए, राम्रा भए,’ उनले लेखेका छन्, ‘अरुलाई सहयोग गर्न धेरै काम लाग्नेछन् ।’
उनले बाँकी जीवन ‘क्याडरलेस’, ‘पिपुलबेस’ र प्रत्यक्ष लोकतन्त्रको पक्षमा लाग्ने पछिल्लो पुस्तालाई समय, ज्ञान र धनले समर्पित भएर सघाउने उद्घोष गरेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।